चलचित्रमा व्यक्तिगत दुश्मनी र भिडन्तको संकेत

यदि नेपाली चलचित्रका विभिन्न संघसंस्थाले पहल नगर्ने हो र निर्माताले पनि कुरा नबुझ्ने हो भने आगामी चैत्र २७ गतेदेखि नेपाली चलचित्र क्षेत्रमा राम्रा चलचित्रले पनि दर्शक नपाउने पक्का छ । एकसाथ चारवटा ठूला र राम्रा ब्यानरका चलचित्र जुध्दा दर्शक हलमा बाँडिने छन् । यसैले, चलचित्र प्रदर्शनका लागि एउटा नीति बनाउन आवश्यक देखिन्छ ।
आउँदो चैत्र २७ गतेदेखि चल्न लागेका चलचित्रका विषयमा त्यसका निर्माता, निर्देशक वा वितरकको एक आपसमा राम्रो सम्बन्ध छैन । जसका कारण पनि यो भिडन्तलाई व्यक्तिगत दुश्मनीले निम्त्याएको महायुद्ध भन्न सकिन्छ ।
दिनेश डीसीको फूलै फूलको मौसम तिमीलाई, छविराज ओझाको निर्माण तथा ऋषि लामिछानेको निर्देशनमा बनेको हवल्दार सुन्तली, विकास आचार्यको निर्माण तथा मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्र नाई नभन्नु ल-३ र नीर शाहको चलचित्र सेतो बाघको महा-भिडन्त हुँदैछ ।
यो भिडन्तको पछाडि सबैले आफ्नो चलचित्र उत्कृष्ट रहेको र अरुले फरक नपार्ने बताउँछन् । तर, यो भिडन्तको पछाडि व्यक्तिगत दुश्मनीले पनि काम गरेको देखिन्छ ।
डीसी र लामिछानेको व्यक्तिगत दुश्मनी
चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’का निर्माता तथा निर्देशक दिनेश डीसी र चलचित्र ‘हवल्दार सुन्तली’का निर्देशक ऋषी लामिछानेको व्यक्तिगत दुश्मनी छ । चलचित्र निर्देशक समाजमा डीसीको कार्यशैलीप्रति नै प्रश्न उठाउँदै तत्कालीन समयमा महासचिव रहेका ऋषिले विद्रोह गरेका थिए ।
जसका कारण पनि यी दुई निर्देशक एक-अर्काको चलचित्रलाई उछिनेर माथि जान र आफुलाई अब्बल बनाउन लागिपरेका छन् । उसो त ऋषिको चलचित्रको प्रदर्शन मिति पहिले नै तय भएको थियो ।
छवि र मनोज-उज्ज्वलको दुश्मनी

चलचित्र ‘काली’ सुरुमा मनोज र उज्ज्वलले वितरण गर्ने भन्दै रेखालाई २ लाख एडभान्स पनि दिएका थिए । तर, पछि यो चलचित्र छविराज ओझाले खोसेपछि सुरु भएको झगडा अब चैत्र २७ गते देखिने भएको छ ।
‘फूलै फूलको मौसम तिमीलाई’ छविको ‘हवल्दार सुन्तली’ माथि खनिनुको दुश्मनीको एउटा कारण हो ।
‘फूलै फूलको मौसम तिमीलाई’ छविको ‘हवल्दार सुन्तली’ माथि खनिनुको दुश्मनीको एउटा कारण हो ।
तत्कालीन समयमा छवि ओझाले ‘काली’ लिएपछि मनोज र उज्ज्वलले विराज भट्टको चलचित्र ‘दामिनी’ चलाएका थिए । अब मनोज र उज्ज्वल दीनेश डीसीको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को वितरणमा सहयोग गरेर छविराज ओझासँग बदला लिने तयारीमा छन् ।
बुढो हुँदै गएको बाघ
निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रकै ‘बाघ’ भनिन्छ । तर, के अब यो बाघ बुढो भएकै हो त ? छविले रेखा फिल्मस्बाट चलचित्र बनाउँदा अन्य चलचित्र जुध्ने कोशिश गर्दैनथ्य । तर, अब समय बदलिएको छ ।
गत वर्ष पनि रेखा थापाको ‘हिम्मतवाली’सँग जुध्न आट नगरेका केही चलचित्रका निर्माताले छविराज ओझाको ‘लज्जा’सँग भिड्न तयार भए । छविराज प्रोडक्शन भन्दा आफ्नो प्रोडक्शन दरिलो भएको उदाहरण प्रस्तुत गर्न निर्माताहरु अगाडि देखिएको देखिन्छ । के ‘वाघ’ निर्माता बुढो भएकै हुन् त ?
चलचित्र ‘नाई नभन्नु ल ३’को निर्माण यूनिट यसका कलाकार र ब्रान्ड अनि गीतले चल्नेमा ढुक्क छ । धेरैको विश्लेषणले पनि यो भिडन्तले ‘नाइ नभन्नु ल-३’ लाई फरक नपर्ने बताउँछन् । तर, यी ४ चलचित्रका भिडन्तले चलचित्र उद्योगलाई फाइदा भने दिँदैन ।
source:onlinekhabar

0 comments
Write Down Your Responses